नारायण ज्ञवाली, संरक्षक, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल
काठमाडाैं । सामुदायिकता, सहकार्यता, सहभागिता, समन्वयात्मकता र साझेदारी यी पाँच आधारलाई विकासको मूल दर्शन मान्ने हो भने नेपालको सामुदायिक विद्युतीकरण त्यसको उत्कृष्ट उदाहरण हो। यो कुनै एउटा सरकार, संस्था वा व्यक्तिको मात्र उपलब्धि होइन। यो राज्य र समुदायबीचको सहकार्य, जनताको सहभागिता, स्थानीय लगानी र सामाजिक अभियन्ताहरूको निरन्तर समर्पणबाट निर्माण भएको विकासको नमुना हो।
आज नेपालमा ‘उज्यालो नेपाल’को चर्चा हुन्छ। विद्युत पहुँच विस्तारलाई राष्ट्रिय उपलब्धिका रूपमा प्रस्तुत गरिन्छ। तर हामीले एकपटक गम्भीर भएर सोच्नुपर्छ—यो उज्यालो कहाँबाट आयो? कसको लगानीबाट आयो? कसको श्रमबाट आयो? कसको त्याग र संघर्षबाट आयो?