नारायण ज्ञवाली, निवर्तमान अध्यक्ष, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ
काठमाडाैं । नेपालको भौगोलिक बनावट आफैंमा एउटा ठूलो चुनौती हो। हिमाल, पहाड र तराईको विविध भूगोल, भिरालो जमिन, कमजोर भौगर्भिक संरचना, असंख्य नदी–खोला तथा मनसुनमा हुने अत्यधिक वर्षाका कारण नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश हो। हरेक वर्ष बाढी, पहिरो, डुबान, नदी कटान र भूक्षयका कारण ठूलो जनधनको क्षति हुने गरेको छ।
प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न सकिँदैन। तर विपद् हुँदा कति क्षति हुन्छ भन्ने कुरा प्राकृतिक शक्तिले मात्र होइन, हाम्रो विकास नीति, पूर्वाधार निर्माणको शैली र जोखिमप्रतिको हाम्रो दृष्टिकोणले पनि निर्धारण गर्छ।पछिल्ला वर्षका घटनाले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन् ,के हामीले हाम्रो भूगोल बुझेर पूर्वाधार निर्माण गरिरहेका छौँ?यदि यसको उत्तर खोज्ने हो भने अब सडक, पुल, बस्ती र नदीलाई अलग–अलग विषयका रूपमा हेरेर पुग्दैन। यी सबैलाई एउटै विपद् जोखिम र भू–उपयोग व्यवस्थापनको दृष्टिकोणबाट हेर्नुपर्ने समय आएको छ।